Rule 3
नियमित रोजगारी
(१) ऐनको दफा १० को उपदफा (२) बमोजिम कुनै रोजगारी नियमित हो वा होइन भन्ने प्रश्न उठेमा सम्बन्धित रोजगारदाता वा श्रमिकले सो बारेमा यकिन गरिदिन कार्यालय समक्ष निवेदन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम कसैको निवेदन परेमा कार्यालयले एक महिनाभित्र श्रमिकले गरिआएको कामको प्रकृति र देहायका कुरा समेतको आधारमा त्यस्तो रोजगारी नियमित रोजगारी हो वा होइन भन्ने बारे निर्णय दिनु पर्नेछः-
(क)  कुनै श्रमिकलार्इ काम गर्न तोकिएको अवधि सकिएपछि त्यस्तो कामलार्इ निरन्तरता दिनु पर्ने वा नपर्ने र निरन्तरता दिनु पर्ने भए तत्काल अर्को श्रमिक आवश्यक पर्ने वा नपर्ने,
(ख)  त्यस्तो काम सम्पन्न गर्ने अवधि नतोकिएको भए नियमित रुपमा एक वर्षभन्दा बढी अवधि काम गरेको हो, होर्इन।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐन वा यस नियमावली बमोजिम विभागमा दिएको कुनै निवेदन वा अदालतमा परेको कुनै मुद्दामा कुनै रोजगारी नियमित हो वा होइन भन्ने प्रश्न उठेमा विभाग वा अदालतले सो विषयमा समेत निर्णय दिन सक्नेछ।